Thu Jun 30 2022
मुख्य खबर

माओवादीमा अझै पदाधिकारी टुंगो लाग्न सकेन

पाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले दाहाललाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी भने बैठकले चयन गर्न सकेन ।

बैठकले पदाधिकारी निर्वाचन’दयगत छलफल गर्दै अध्यक्षमा दाहाललाई नै निरन्तरता दिने निर्णय गरेको हो । अहिलेको सन्दर्भमा दाहालकै नेतृत्व आवश्यक रहेको भन्दै नेता श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन दाहालकै नेतृत्व अपरिहार्य रहेको भन्दै श्रेष्ठले दाहालको नाम अघि सारेका थिए ।

उनले दाहालकै नेतृत्वमा ‘जनयुद्ध’, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको बताउँदै दाहालकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष दाहालले चीनमा उपचाररत नेता वर्षमान पुन र ओनसरी घर्तीको समेत सहभागितामा पदाधिकारी टुंगो लगाउनु उचित हुने धारणा राखेपछि सोमबारको बैठकबाट पदाधिकारी टुंगो लाग्न सकेन । पुनः र घर्तीको समेत सहभागितामा २५ पुसको बैठकबाट पदाधिकारी टुंगो लगाउने उनले बताए । पुनः आज मंगलबार नेपाल फर्किंदै छन् ।

माओवादी नेता कृष्णबहादुर महराका अनुसार केन्द्रीय समितिको अर्को बैठक २५ पुसमा बस्नेछ । सो बैठकबाट अन्य पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको टुंगो लाग्ने उनले बताए । माओवादी स्रोतका अनुसार पदाधिकारीका आकांक्षी बढी भएपछि सर्वसम्मत हुन नसकेको हो ।

माओवादी विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । तर, महाधिवेशनमा दाहालले २ सय ९९ सय केन्द्रीय सदस्यमध्ये २ सय ३६ जनाको नाम प्रस्ताव गरेपछि बन्दसत्रले पारित गरेको थियो ।

माओवादीको विधानअनुसार अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

बैठकमा आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राजधानी दैनिकमा खबर छ ।