काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ ।
उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो ।
खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । गोली लागेर ती घाइते महिला अस्पतालमा भर्ना भएकी छन् ।
उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन ।
गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस(वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो । सो घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् ।
उनी त्यसअघि सुल्तानपुरमा प्रखर सामाजिक कार्यकर्ताको रुपमा परिचित थिइन् ।
रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गोली हानिएको हो ।
गोली हान्नेहरूलाई नचिनेको उनले बताएकी छन् ।