जोडिनुहोस
  • होमपेज
  • युद्धग्रस्त देश युक्रेनसँग नेपाललाई १६ अर्ब व्यापार घाटा

युद्धग्रस्त देश युक्रेनसँग नेपाललाई १६ अर्ब व्यापार घाटा

काठमाडौँ । रुसको सैन्य हमलाको चपेटामा परेको देश युक्रेनसँगको व्यापारमा नेपाललाई १६ अर्बभन्दा धेरैको घाटा देखिएको छ । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा १६ अर्ब १ करोड ३७ लाख रुपैयाँभन्दा धेरैको व्यापार घाटा भएको हो ।

रुसले सन् २०२२ देखि २४ फेब्रुअरी (२०७८ फागुन)देखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । रुससँग युद्ध लडिरहेको देशसँग यस अवधिमा अर्बौँ रुपैयाँको व्यापार घाटा देखिएको हो । यद्यपि, यो गत आर्थिक वर्ष २०७८/७९ को यही अवधिको तुलनामा भने न्यून व्यापार घाटा हो ।

गत आर्थिक वर्षको यही अवधिमा नेपालले युक्रेनसँगको व्यापारमा २० अर्ब ८१ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिनामा ४ अर्ब रुपैयाँ बराबरको घाटा न्यूनीकरण भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

चालू आर्थिक वर्ष २०७९/८० यस अवधिमा युक्रेनबाट नेपालमा १६ अर्ब २ करोड ३४ लाख रुपैयाँको आयात भएको छ । जबकि, नेपालबाट युक्रेनतर्फ जम्मा ९७ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, गत आर्थिक वर्ष २०७८/७९ को यही अवधिमा २० अर्ब ८१ करोड ५६ लाख रुपैयाँ बराबरको आयात हुँदा नेपालबाट १९ लाख रुपैयाँको निर्यात भएको थियो ।

युद्ध सुरु भएपछिको अवधिमा युक्रेनबाट ४ अर्ब ७९ करोड रुपैयाँले आयात घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । युक्रेनबाट नेपालमा मुख्य गरी तोरी, भटमास र सूर्यमुखीको तेल आयात हुँदै आएको थियो । युद्ध सुरु भएपछि खाने तेलको आयातमा समस्या आउँदा यसको प्रभावस्वरुप आयात समेत ४ अर्ब रुपैयाँले घटेको हो ।

यस अवधिमा युक्रेनबाट नेपालमा ३ अर्ब १३ करोड रुपैयाँको तोरीको तेल र तोरीको दाना आयात भएको छ । यस्तै, २७ करोड ७८ लाख रुपैयाँ बराबरको कच्चा भटमास तेल, १२ अर्ब ३९ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल आयात भएको छ । जबकि गत आर्थिक वर्ष तोरीको तेल र दानाको आयात बापत ५ अर्ब रुपैयाँ युक्रेनतर्फ बाहिरिएको थियो ।

यस्तै, कच्चा सूर्यमुखी तेलको आयातमा १४ अर्ब ६७ करोड रुपैयाँ बाहिरिएको थियो भने भटमासको कच्चा तेल आयातमा ८८ करोड रुपैयाँ बाहिरिएको थियो । यसबाहेक अन्य वस्तुको आयातमा न्यून रकम बाहिरिने गरेको छ ।

बढ्यो निर्यात

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आर्थिक वर्षमा युक्रेनतर्फको निर्यात बढेको छ । युद्ध सुरु भएपछि युक्रेनतर्फको निर्यात ७८ लाख रुपैयाँ बढेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष नेपालबाट १९ लाख रुपैयाँ बराबरको वस्तु मात्रै युक्रेन निर्यात भएको थियो । जबकि, चालू आर्थिक वर्षको सोही अवधिमा ९७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालबाट युक्रेनतर्फ चिया, धागो र कार्पेट तथा टेक्सटायल लगायतका वस्तु निर्यात भएको छ । यस अवधिमा ४६ लाख रुपैयाँको धागो र ३९ लाख रुपैयाँको कार्पेटजन्य वस्तु निर्यात भएको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका