Thu Jan 27 2022
आर्थिक

नेप्से परिसूचक ३०.७५ अंकले गिरावट, ४ अर्ब बराबरको कारोबार

काठमाडौं । केहिदिन यता हरियो बनेको शेयरबजार बुधबार राताम्मे बनेको छ । बुधबार नेप्से परिसूचक ३०.७५ अंकले घटेर २६४९.२० अंकमा बन्द हुँदा समग्र बजार नै राताम्मे बन्न पुगेको हो ।

केही दिनदेखि निरन्तर बढेको बजारबाट सर्टटर्म प्रोफिट निकाल्दै लगानीकर्ता बाहिरिँदा बुधबार बजार दोहोरो अंकले घट्न पुग्यो ।

राताम्मे बजारमा कारोबारमा आएका २ सय ३६ कम्पनीको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख रुपैयाँमा कारोबार हुँदा ५२ कम्पनीको शेयरमूल्य बढेको छ । बाँकी १ सय ३४ कम्पनीको भने शेयरमूल्य घट्न पुगेको हो ।

काराबोर खुलेबाटै उतारचढाव पूर्ण स्थितिबाट गुज्रिएको शेयरबजारले अधिकतम विन्दु २७ सय चुमेर फर्किएर अन्त्यमा राताम्मे बनेर बन्द हुन पुग्यो ।

घटेको बजारमा जलविद्युत् र वित्त समूहबाहेक सबैका सूचक घटेका छन् । कम्पनीगत रूपमा भने मध्य भोटेकोसी जलविद्युत आयोजनाको सर्किट लेबलमा शेयरमूल्य बढेको छ भने छ्याङ्दी हाइड्रो, तेह्रथुम पावरको ५ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढेको छ ।

आजको कारोबारमा शेयरमूल्य घट्ने कम्पनीहरूको बाहुल्य देखिँदा सर्वाधिक भने विजय लघुवित्तको शेयरमूल्य घटेको छ । यो लगायत फस्ट माइक्रोफाइनान्स, किसान लघुवित्त र सिभिल लघुवित्तको ४ प्रतिशतभन्दा धेरैले शेयरमूल्य घट्न पुगेको हो ।

काराबोरमा भने शिवम् सिमेन्टको अग्रता कायमै छ । यो कम्पनीको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने दोस्रोमा अपि पावरको १६ करोड र तेस्रोमा माथिल्लो तामाकोसीको १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।