Sat Jan 22 2022
देश

वीरगञ्जमा कोरोना संक्रमित बढ्यो, खतराको संकेत

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बिहीबारदेखि लागु हुनेगरी प्रि स्कूल र कक्षा १ देखि ८ सम्म अनलाइनमार्फत पढाउन भनिएको छ ।

कक्षा ९ देखि १२ सम्म ५० प्रतिशतको सहभागितामा पढाउन, सिनेमा हलमा ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न र बिहेमा पनि सहभागी हुनेहरुको संख्या घटाउन भनिएको छ ।

गत महिना श्रीमान र छोरासहित पोखरा–बाग्लुङलगायत क्षेत्रको भ्रमण गरेर फर्किएकी वीरगञ्जकी ३२ वर्षीया महिलालाई रुघाखोकी र ज्वरो आयो ।

नेशनल मेडिकल कलेजमा उपचार गराउँदा ठीक नभएपछि नारायणी अस्पतालमा पुगेकी उनलाई पुस ११ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो ।

उनले कोरोना भाइरसविरुद्धको खोप लगाएकी थिइनन् । उपचारपछि उनको अवस्था सामान्य छ ।

पुस १३ गते वीरगञ्जमा १४ जनाको पीसीआर परीक्षण गर्दा थप एक जनामा संक्रमण देखियो ।

पुस १६ र १९ गते गरिएको पीसीआर परीक्षण रिपोर्टले चिकित्सकहरुलाई समेत झस्काएको छ । पुस १६ गते २२ जना र १९ गते २४ जनामा पीसीआर परीक्षण गर्दा ३र३ जनामा संक्रमण देखिएको छ ।

१६ गते संक्रमण पुष्टी भएका तीनै जना भारतको दिल्ली पुगेर फर्केका थिए । दुवै मात्रा खोप लगाइसकेका उनीहरुको अवस्था सामान्य छ ।

वीरगञ्जसँग सीमा जोडिएको बिहारमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

नाका हुँदै आउने मानिसहरुले खोप लगाए नलगाएको, पीसीआर गराएको वा नगराएको जाँच गर्न जनशक्ति अपुग छ ।

भारतीय नागरिकले नेपाल आउँदा अनिवार्य पीसीआर रिपोर्ट र खोप लगाएको प्रमाण लिएर आउनुपर्ने भनिएपनि त्यो कार्यान्वयनमा छैन ।

नाकामा सीमित संख्यामा गरिने एन्टिजेन परीक्षणका क्रममा दैनिक संक्रमित भेटिने गरेको नाकामा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।