Wed Aug 17 2022
देश

लिभिङ टुगेदरमा बस्ने युवक–युवती मृत फेला

काठमाडौं । काठमाडौँको कपनमा लिभिङ टुगेदरमा बसेका एक युवक र युवती मृत भेटिएका छन् ।

कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएका हुन् ।

संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिएका छन् ।

युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।

गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् ।

अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याएका थिए । तर, अस्पतालमा उनको मृत्यु भएको छ ।

अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

अमिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका हुन् ।

कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको छ । उनीहरु दुवैजना पब्जीको लतमा थिए ।