Thu Aug 18 2022
देश

चिसो बढेसँगै अस्पतालमा पनि बिरामीको संख्या बढ्यो, बालबालिका र जेष्ठ नागरिकलाई बढी जोखिम

काठमाडौं । तराईका जिल्लामा शितलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ ।

भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन् । चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको चिकित्सकहरुले बताएका छन् ।

चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकी लगायतको समस्या हुने भएकाले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

रुपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ ।

चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन् । चिसोको कारण स्वास्थ्य चौकीमा उपचारका लागि जाने बिरामी बढेका छन् ।

त्यस्तै, जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्ने र प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्ने भन्दै सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव छ ।

उता, चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको छ । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।

यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।