Tue Jan 18 2022
खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुदै

काडमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट आठौं चरणका खेलहरु सुरु हुँदैछ ।

लिगको आठौं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुनेछन् । पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

संकटा र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । संकटा लिगको तेस्रो स्थानमा रहेको छ । संकटाले ७ खेलमा १३ अंक जोडेको छ ।

आज सातदोबाटोलाई हराएर संकटा दोस्रो स्थानको मनाङसँग अंक बराबरी गर्न चाहन्छ । सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

संकटालाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ । यस्तै दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफ र जावलाखेलबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । जावलाखेललाई हराएर एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ ।

जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा रहेको छ । जावलाखेल पनि एपीएफलाई स्तब्ध पार्दै अंक तालिका सुधार्ने योजनामा हुनेछ ।