Fri Jan 21 2022
खेलकुद

पहिलो संस्करणको केटीएम रन प्रतियोगिता माघ १५ गते हुँदै

काठमाडौँ । पहिलो संस्करणको केटीएम रन प्रतियोगिता माघको तेस्रो साता आयोजना हुने भएको छ । आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले आज पत्रकार सम्मेलन गर्दै केटीएम रन माघ १५ गते आयोजना हुने जानकारी गराएको छ ।

शनिबारका दिन आयोजना हुने केटीएम रन १० किलो मिटरको हुने आयोजक केटीएम सिटीले जनाएको छ । केटीएम रन पुरुष र महिला गरि दुई स्पर्धामा आयोजना हुनेछ । प्रतियोगिताको पुरस्कार पुरुष तथा महिलामा समान राशी रहेको छ । केटीएम रनको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन ।

यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हो । त्यस्तै, दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई गिफ्ट भौचर प्रदान गरिने आयोजकले जनाएको छ ।

केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुनेछ । केटीएम रनमा सहभागी हुने खेलाडीका लागि ९ सय ९० रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहितका सामाग्री उपलब्ध गराउनेछ । केटीएम रनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको सहभागीता खुल्ला गरिएको छ । खेलाडीले पुस २९ गतेबाट माघ १३ गतेसम्म नाम दर्ता गराउन सक्नेछन ।