Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

भारतका २६ राज्यमा ओमिक्रोन, सात महिनापछि संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ ।

यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ ।

भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक संक्रमितको संख्या एक लाख नाघेको हो । सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित देखिएका थिए ।

कोभिडबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा शुक्रबार ३६ हजार २६५ नयाँ संक्रमित भेटिएका छन् । यस्तै, संक्रमण बढेपछि मुम्बईमा लकडाउन गर्ने तयारी भएको छ ।