Tue Aug 9 2022
मुख्य खबर

सभापतिले आफूखुसी गर्न खोजे कांग्रेसले तीनै तहको चुनावमा हार ब्यहोर्नुपर्छ : शेखर कोइराला

सुनसरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताउनु भएको छ ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता कोइरालाले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण भने बनिनसकेको बताउनु भयो ।

सभापति शेर बहादुर देउवाले विधानमा भएको व्यवस्थालाई गलत रुपमा प्रयोग गरेर नियुक्ति गरिएको बताउनुभयो । सभापति यसरी नै हिँड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले भर्खर सुरुवात हो । जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनु पर्यो । देखिने गरी हुनु पर्यो, न्यायसङ्गत हुनुपर्यो ।’

‘उहाँले विधानलाई टेकेर हिँड्नु भएको छ तर जसरी नियुक्तिहरु गर्नुभएको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चाँहि हामीले जान्न जरुरी छ । न्यायसङ्गत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै’उहाँले भन्नुभयो ।

एक फरक प्रसङ्गमा कोइरालाले आम नेपाली जनतामा एमसीसीबारे फैलिएको त्रास चिर्न संसद् मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताउनु भयो ।

कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नु पर्ने बताउनु भयो ।