Fri Jan 28 2022
मुख्य खबर

भूमिहीनता सदाका लागि अन्त्य हुनेगरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनता सदाका लागि अन्त्य हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिनु भएको छ ।

मन्त्री श्रेष्ठले लक्षित वर्गले भरोसा गर्नेगरी कार्य प्रारम्भ गर्न आयोगलाई सचेत गराउनु भयो । राष्ट्रिय भूमि आयोगले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आयोगको कामलाई सफल बनाउन आफ्नो मन्त्रालय र मातहतका सबै निकायले सम्पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

मन्त्री श्रेष्ठले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको मात्रै नभएर मोही, विर्तालगायतको समस्या समाधान गर्न पनि सरकारले कुनै कसर बाँकि नराख्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीनहरुको समस्या समाधान हुनेगरी आयोगले आफ्नो कामलाई अघि बढाएको बताउनु भयो । उहाँले वर्तमान सरकारले भूमिहीनहरुको समस्या समाधानको कामलाई प्राथमिकताका साथ अघि बढाएको दावी समेत गर्नु भयो ।

अध्यक्ष निरौलाले भूमिहीनहरुको समस्या समाधानका लागि आयोगले स्थानीय सरकारसँग मिलेर काम हुने गरी कार्ययोजना तय गरेको पनि बताउनु भयो ।