Sat Jul 2 2022
देश

प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै

काठमाडौं । प्रदेश १ मा कोरोनाका बिरामीहरु बढ्न थालेपछि अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढेको छ ।

पछिल्ला केही दिन यता मुलुकभर कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेश १ मा पनि सक्रिय सङ्क्रमण दर उकालो लागेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेकोमा यो दर बढेर शनिबारसम्म आइपुग्दा १९२ पुगेको हो ।

प्रदेश १ मा अति नै न्यून सङ्ख्यामा पीसीआर परीक्षण हुँदै आएकाले पनि सङ्क्रमितको सङ्ख्या थोरै देखिएको छ।

शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश सरकारले यसअघि दैनिक १ सयको हाराहारीमा मात्र पीसीआर परीक्षण गदै आएको थियो ।

शनिवार प्रदेश भरी पीसीआर परीक्षण गर्दा प्रदेशमा पनि बिस्तारै सङ्क्रमितको दरको ग्राफ बिस्तारै बढेको देखाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोखरेलले बताए ।

पोखरेलका अनुसार विशेष गरी मुख्यतया सघन सहरी क्षेत्र विराटनगर, धरान, इटहरी, झापाको बिर्तामोड लगायतका क्षेत्रमा क्रमशः कोरोना सङ्क्रमणको दर बढेको देखाएको छ ।