Thu Jun 30 2022
देश

कोरोना सङ्क्रमण बढ्न थालेपछि भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ

काठमाडौं । कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार जमघट, भेला, सभा, सम्मेलन र मेला महोत्सवमा कडाइ गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाका अनुसार सीसीएमसीसीको सिफारिसलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न लागिएको बताइएको छ ।

सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

यस्तै, राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ ।

समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ । बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

यस्तै आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गर्न सिफारिस भएको छ । हवाई उडानका लागि विमानस्थल पुग्ने यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्णय सीसीएमसीले गरेको थियो ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

यस्तै सार्वजनिक ठाउँमा भेला र भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप कार्डले मात्रै प्रवेश दिने व्यवस्था मिलाउने निर्णय भएको छ ।