Wed Jan 26 2022
देश

अभिनेत्री दिया पुन सगरमाथा आरोहण गर्दै

काठमाडौं । अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् ।

यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी हुन् ।

पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन् ।

त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना थियो तर कोभिड महामारीका कारण रसियाको सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकाको सबैभन्दा अग्लो माउण्ट किलिमञ्जारो चढ्ने योजना भने अधूरै रह्यो ।

उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।

चलचित्र ‘वीर विक्रम’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री पुनले ह्याप्पी डेज, ’मिस्टर झोले’,’दया रानी’ र ‘मन्त्र’ जस्ता चलचित्रमा काम गरिसकेकी छन्।

दियाले सौगात मल्लसँग स्क्रिन शेयर गरेको चलचित्र ‘मन्त्र’ सामान्य अवस्था रहेमा यहि माघ २८ गते बाट सार्वजनिक प्रदर्शनमा आउने छ।