Wed Jan 19 2022
देश

मध्यपुरथिमिको मिनी कोसीटप्पुमा विश्वमै लोपोन्मुख गरुड भेटियो

काठमाडौं । मध्यपुरथिमिको मिनी कोसीटप्पुमा गरुड भेटिएको छ ।

मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोसीटप्पुले परिचित मनोहरा क्षेत्र र यस वरपर विश्वमै लोपोन्मुख गरुढ भेटिएको हो ।

ख्यातिप्राप्त वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले काठमाडौँको शालीनदी क्षेत्रबाट बोडेको मिनी कोसीटप्पुसम्म गरेको चरा गणना एवं खोज तथा अनुसन्धानका क्रममा लोभीपापी गरुढ फेला परेको हो ।

टोलीले हिउँदे आगन्तुक पानी चरासँगै त्यस क्षेत्रमा पाइने रैथाने चराको गणना गरेको हो ।

गणनाका क्रममा अर्को लोपोन्मुख चरा गोमायू महाचील २५ वटाको सङ्ख्यामा साथै विभिन्न १०६ प्रजातिका चरा फेला परेको टोलीले जनाएको छ ।

श्रेष्ठ नेतृत्वको टोलीमा रामचन्द्र मोयं श्रेष्ठ, गोपी श्रेष्ठ, पेम्बा शेर्पा, सुगम ताम्राकार, सत्यम पाठक र आयुशा पौडेललगायतका पक्षीप्रेमी तथा वन्यजन्तु फोटोग्राफरको सहभागिता थियो ।

टोलीले नेपाल पक्षीविज्ञ सङ्घ, वेटल्याण्ड इन्टरनेशनल, हिमालयन नेचुरल, जेडएसएल, नेपाल पक्षी संरक्षण सङ्घ, पोखरा पक्षी समाज, कोसीटप्पु वर्ड वाचिङक्याम्प प्रालि र नर्थप्वाइन्ट मल प्रालिको संयुक्त सहकार्यमा पक्षी गणना गरेको हो ।

प्रत्येक वर्ष जाडो छल्न मङ्गोलिया, साइबेरिया, तिब्वत र युरोपबाट जलपक्षी चरा नेपाल आउने गरेका छन् ।

विश्वव्यापी समस्याका रूपमा देखापरेको जलवायु परिवर्तनका कारण चराको बसाइँसराइमा पनि प्रभाव पारेको छ ।

बसाइँसराइ गरी नेपालका विभिन्न सिमसार तथा टतीय क्षेत्र, नदी किनारमा जाडो छल्न तथा बच्चा हुर्काउन आउने चराको पछिल्लो अवस्थाका बारेमा अभिलेखीकरण गर्ने उद्देश्यले मनोहरा क्षेत्रमा चरा गणना गरिएको संयोजक श्रेष्ठले बताए ।

तीन दिनसम्म चलेको गणना कार्यक्रममा कतिपय अघिल्ला वर्षमा देखिने गरेका चरा यस वर्ष नदेखिएको र कतिपय नयाँ प्रजातिका चरा पनि देखिएको श्रेष्ठको अनुभव छ ।

मध्यपुरथिमिको बोडेस्थित मनोहरा नदीको तटीय क्षेत्र पछिल्लो समय मिनी कोसीटप्पुको नामले ख्याति कमाउँदै गए पनि स्थानीय तहले संरक्षणको नीति ल्याउन सकेको छैन ।

सोही क्षेत्रमा तीव्ररुपमा सहरीकरण वृद्धि भइरहेको छ । मध्यपुरथिमि नगरपालिकाले पनि त्यस क्षेत्रको अव्यवस्थित बसोबासलाई व्यवस्थित सहरीकरण गर्ने उद्देश्यले जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

मनोहरा क्षेत्रमा पक्षी पर्यटनको प्रचुर सम्भावना भए पनि बढ्दो सहरीकरणले यसलाई जोखिममा पारेको संयोजक श्रेष्ठले बताए ।

तटीय क्षेत्रमा मानवीय गतिविधि वृद्धिलगायत ठूलो समस्याका रूपमा रहेको बालुवालगायत नदीजन्य पैदावारको अवैध दोहनले पनि आगन्तुक पानीचराहरू ठूलो समस्यामा परेको उनले बताए ।

मनोहरा नदीमा दैनिक हुने गरेको बालुवाको चोरी निकासी, फोहर फाल्ने प्रवृत्ति, पानीको प्रदूषण, चराको बासस्थान नष्ट गर्ने प्रवृत्तिले गर्दा पनि पानीचराको बासस्थान जोखिममा परेको श्रेष्ठको भनाइ छ ।