काठमाडौं । आज देशभरको मौसम आंशिक बद्ली रहेको छ ।
आज सुदूरपश्चिम प्रदेश र प्रदेश–१ का एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।
उनका अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ ।
भोलि पनि प्रदेश–१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रका एक÷दुई ठाउँमा हल्का हिमपात हुनेछ । देशका अन्य प्रदेशमा भने मौसम सफा नै रहने अनुमान गरिएको छ ।
हुम्लामा भने हिजोअस्ति जस्तो आज हिमपात नहुने मौसमविद्ले बताएका छन् । धेरैजसो ठाउँमा केही दिनयता पारिलो घाम लागेको छैन ।