विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ ।
भुजेलको घरमा पाहुना आएका बुढाथोकीको हत्या भएको बताइएको छ । सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेजस्तो देखिन्छ ।
वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । केही दिनयता मृतक बुढाथोकी भुजेलको घरमा पाहुना लाग्न आएका थिए । बुढाथोकीको घर लेटाङमै भएपनि आफ्नो घरमा भने नबस्ने गरेको स्थानीयले जनाएका छन् ।
सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्याको विषयमा थप अनुसन् धान भइरहेको छ ।