Sat Jan 22 2022
मुख्य खबर

मेडिकल कलेज शुल्क विवादमा विद्यार्थी संगठनद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनले अतिरिक्त शुल्क माग गर्ने मेडिकल कलेज सञ्चालकलाई कानूनी कार्वाही गर्नुपर्ने मागसहित गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मंगलबार गृहमन्त्री खाँडलाई भेटेर सात विद्यार्थी संगठनहरूले ३ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

शिक्षाजस्तो अत्यावश्यक सेवालाई आफ्नो चंगुलमा राखी विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त हुने सफलतामाथि अंकुश लगाउन खोज्ने मेडिकल सञ्चालहरुलाई तत्काल पक्राउ गरी कानून बमोजिम कार्वाही गर्नुपर्ने विद्यार्थी संगठनको माग छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित बढी शुल्क लिने नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज र मणिपाल मेडिकल कलेजमाथि आवश्यक छानबिन हुनपर्ने र विद्यार्थी र उनका अभिभावकलाई धम्की दिनेलाई कार्वाही गर्नुपर्ने माग पनि विद्यार्थी संगठनहरुले राखेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँडले यस विषयलाई आफूले गम्भिरतापूर्वक लिएको बताएका थिए । उनले आवश्यक छलफल गरेर अघि बढ्न आश्वान दिएका छन् ।