जोडिनुहोस
  • होमपेज
  • कुन पार्टी भन्ने मतलब छैन, दोषीलाई छाड्दैनौं : गृहमन्त्री श्रेष्ठ

कुन पार्टी भन्ने मतलब छैन, दोषीलाई छाड्दैनौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानबाट आफू कुनै हालतमा पछि नहट्ने अडान दोहोर्‍याएका छन् । कानून सबैलाई समान हुने भन्दै उनले कोही पनि दोषीलाई नछाडिने प्रतिबद्धता जनाए ।

‘समाजवादी यात्राको चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले स्वच्छ र निस्पक्षरूपमा अनुसन्धान अघि बढाइएको उल्लेख गरे ।

उनले भने, ‘प्रश्न उठिरहेको छ कि यो कहाँसम्म जान्छ ? मैले बारम्बार भनेको छु, स्वच्छ र निस्पक्षरुपमा अनुसन्धान अगाडि बढाइने छ । तथ्य-प्रमाणको आधारमा दोषी फेला पार्न जहाँसम्म जानुपर्ने हो, त्यहाँसम्म पुग्छ । दोषीलाई छोडिदैँन । प्रहरीलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि अनवश्यक निर्देशन दिइएको छ ।’

भ्रष्टाचारविरुद्धको कारबामा विभिन्न दबाबको सामना गर्नुपरिरहेको श्रेष्ठले गुनासो गरे ।

‘यहाँ त अचम्म छ । नहुनु पनि किन । त्यसलाई स्वाभाविक मान्छु । अलिकति नेताहरू दोषी, अपराधी देखिए, मुद्दा चलाइयो भने राजनीतिक पार्टीका नेताहरू कराउँछन्- यो त भएन नि भनेर । उद्योगी-व्यवसायी पक्राउ परे भने हामीले ट्याक्स तिरेका छौं, राज्य चलाउन सहयोग गरेका छौं, हामीलाई गर्ने ? भन्छन् । कर्मचारी परे भने कर्मचारीलाई कहाँ पाइन्छ भन्छन् । त्यसोभए कसलाई गर्ने कारबाही ? निमुखा, गरिब, शक्तिहीन जनतालाई मात्रै गर्ने ? धनीलाई एउटा कानून, गरिबलाई अर्को कानून म मान्दिनँ । सरकारले त्यसलाई स्वीकार गर्दैन । राजनीति गर्ने नेतालाई एउटा, कर्मचारीलाई एउटा, जनतालाई अर्को कानून हुन सक्दैन । सबैलाई कानून बराबरी हुन्छ । रुल अफ ल स्थापना गर्नैपर्छ ।’

‘यहाँसम्म पुग्नुपर्ने खोइ भन्ने छ एकथरिलाई । अरुलाई गरे हुने नि, यसलाई त गर्नुभएन नि भन्ने छ अर्काथरिलाई । कोहीलाई बढी गर्‍यो भन्ने छ, कोहीलाई तान्न पर्नेलाई तानेन भन्ने छ । मेरो मान्यता चाहीँ तपाईंको मनले ठानेर वा प्रमाण नभइकन सरकारले र राज्यले केही गर्न सक्दैन । तथ्य-प्रमाणले भेटेसम्म सबैलाई कानूनको दायरामा ल्याउने हो, चाहे जोसुकै होस । माओवादी, कांग्रस, एमाले, समाजवादी कुनै पार्टीको मतलब छैन । सबै कानूनको अगाडि कि भ्रष्टाचारी हुन् कि होइनन् । कि दोषी हुन् कि होइनन् ’, उनले थपे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका