Mon Jan 24 2022
मुख्य खबर

विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभएको छ ।

ऋषिङ्ग गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा आज मङ्गलवार उहाँले भन्नुभयो, ‘विकास र राजनीति एक अर्काका परिपूरक हो । त्यसैले विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्दछ ।’

विकासका क्षेत्रमा पछि परेका ऋषिङ्गमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै उहाँले हिजो आफूहरूले विकास निर्माणको सुरुवात गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको बताउनुभयो । उहाँले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको संवर्द्धनका लागि सरकारले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिनुभयो ।