Mon Jan 17 2022
देश

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट भएपछि किसानहरु चिन्तित

डोटी । बडिकेदार गाउँपालिकामा सोमबार र मङ्गलबार परेको असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ ।

यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन्।

बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए। उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्‍याएको छ।

यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन्। सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ।