एपीएफ क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधबार न्यु डायमण्डलाई ३–२ को सेटमा हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
निकै रोमान्चक बनेको खेलको पहिलो सेट न्यु डायमण्डले २५–२१ ले जितेको थियो । तर, दोस्रो सेट एपीएफले २५–२१ ले आफ्नो बनायो । तेस्रो सेट न्यु डायमण्डले २५–१० ले जित्दै २–१ को अग्रता बनायो ।
चौंथो सेट एपीएफले २५–१२ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।
त्यसपछि पाँचौ सेटमा एपीएफले १५–८ ले जित्दै खेल आफ्नो बनाएको हो । जितसँगै एपीएफले ३ खेलमा ५ अंक जोडेको छ । न्यु डायमण्डको यो पहिलो हार हो । न्यु डायमण्डले ३ खेलमा ७ अंक जोडेको छ । न्यु डायमण्ड शीर्ष स्थानमा रहेको छ ।
महिलातर्फ आजै भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले जित निकालेको थियो । आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा हराएर पुलिसले पहिलो जित निकालेको हो ।
पुलिसले टाइगरमाथि २५–२०, २५–१७ र २५–२२ को जित निकालेको हो । पुलिस पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । यता टाइगरको पनि यो लगातार दोस्रो हार हो । पहिलो खेलमा टाइगर न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ । राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३/३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५/२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।