काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।
राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेको हो ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले दलहरुसँग छलफलका लागि शुक्रबार साढे ११ बजे बैठक बोलाइएको जानकारी दिएका छन् ।
बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ ।
निर्वाचन आयोगले आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा दलहरुसँग छलफल गर्नेछ ।
अहिले मतदाता नामावली संकलनको काम भइरहेका विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको छ ।
त्यस्तै स्थानीय तहको निर्वानको मिति तय गर्ने विषयमा पनि छलफल हुनेछ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो। तर, यस बारेमा सरकारले निर्णय गरिसकेको छैन।
पाँच दलीय गठबन्धनको सरकारमा निर्वाचनका विषयमा आवश्यक छलफल अहिलेसम्म हुन सकेको छैन ।
यसअघि २०७४ वैशाख र असार गरेर दुई चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।