Mon Jan 24 2022
देश

भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं.८ की ३३ वर्षीया राधिका थापाको मृत्यु भएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। कृष्ण पौडेलले सुत्केरी गराउन आएकी राधिकाको मुटुको नशामा एक्कासी रगतको प्रेसर परेर मृत्यु भएको दाबी गरेका छन् ।

पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको गुनासो गरेका छन् ।

मृतक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सुत्केरी गराउने क्रममा लापरबाही गरेकाले मृत्यु भएको बताए ।

पुस २६ गते दिउँसो १ बजेतिर सुत्केरी व्यथाले च्यापेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सुत्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेका थिए ।

भेन्टिलेटरमा राखेको केही समयपछि डाक्टरले राधिकालाई मृत घोषणा गरेका थिए । उनको पेटमा साढे तीन किलोको छोरा रहेको मृतकका दाजु ताराले बताए ।

राधिकाका श्रीमान् सुधिर थापा जापानमा छन् । उनी विगत ८ वर्षदेखि जापानमा बस्दै आएका छन् । राधिका भने दशैं अगाडि मात्रै नेपाल आएकी थिइन् । उनकी ६ कक्षामा अध्ययनरत छोरीसमेत छिन् । राधिकाले अघिल्लो पटक छोरी साधारण तरिकाले नै जन्माएकी थिइन् ।

राधिकाको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

पोष्टमार्टम गर्न परिवारले मानेका छैनन् । बुधबार अस्पतालका अध्यक्ष डा।भोजराज अधिकारीसहित भएको छलफलमा अस्पतालले गल्ती र कमजोरी भएको स्वीकार गरेको मृतकका दाजु ताराले बताए ।

राधिकाको उपचारमा अस्पतालको तर्फबाट लापरबाही नगरेको अस्पतालले बताएको छ ।

पुस २४ गते सुत्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्रसूति रोग डाक्टर लोकबहादुर सेढाइले दिएका थिए ।