Thu Jun 30 2022
अन्तर्राष्ट्रिय

सोमालियामा कार बम विस्फोट हुँदा १० जनाको मृत्यु, ९ जना घाइते

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित दश जनाको मृत्यु भएको छ ।

घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटना पछि घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताए ।

मोगादिशुको ‘२१ अक्टुबर रोड’मा कारलाई सेनाको गाडीसँग ठक्कर दिई विस्फोट गराइएको उनले बताए ।

घटनास्थलमा खिचिएका दृश्यहरूमा कालो धुवाँ निस्किरहेको देख्न सकिन्छ ।

प्रत्यक्षदर्शीले केही गाडीहरू आगोले जलेका बताएका छन् । यसैबीच अल–शाबाबले यस आक्रमणको लागि आफ्नो समूह जिम्मेवार भएको दाबी गरेको छ ।