Tue Jan 25 2022
देश

बाँकेमा १ जना स्वास्थ्यकर्मीसहित ८५ जनालाई कोरोना पुष्टि

बाँके । बाँके जिल्लामा बिहीबार एक जना स्वास्थ्यकर्मीसहित ८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका व्यक्तिलाई नाकामा जाँच गर्दा धेरै संख्यामा कोरोना देखिँदै आएकाहरुमा कोरोना पुष्टि भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार नेपालगञ्ज नाकामा ३ सय २९ जनाको जाँच गर्दा ४७ जनालाई कोरोना देखिएको छ। उनीहरू भारतको विभिन्न ठाउँबाट आएका व्यक्ति हुन् ।

भारतबाट आएका व्यक्तिलाई कोरोना जाँच्दा जाँच्दै नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत आठ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्।

नाकामा कोरोना देखिएकालाई एम्बुलेन्समा राखेर नेपालगञ्जस्थित बालमन्दिरमा रहेको आइसोलेसनमा ल्याएर सम्बन्धित पालिकामा पठाउने गरिएको छ।

बाँकेमा सक्रिय संक्रमितको संख्या सय पुगेको छ । भारतबाट आउनेमा कोरोना देखा परिरहे पनि बाँके जिल्लाका ल्याबमा कोरोनाको संक्रमित धेरै देखा परेको थिएन ।

बिहीबार ९३ जनाको जाँच गर्दा एकैपटक ३८ जनामा कोरोना देखिएको छ। यो तथ्यांकले बाँकेको नाका मात्र होइन, जिल्लाभित्र पनि कोरोना संक्रमण फैलिएको पुष्टि गरेको छ। धेरै समयपछि जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा धेरै जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पतालमा ४३ जनाको परीक्षण गर्दा २० जना, कोहलपुर मेडिकल कलेजमा २८ जनाको परीक्षण गर्दा १५ जना र बागेश्वरी ल्याबमा २२ जनाको परीक्षण गर्दा तीन जनालाई कोरोना पुष्टि भएको छ। ३८ जनामध्ये २४ जना बाँके जिल्लाका छन् ।

भेरी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । एक जना सिकिस्त, ७ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। जिल्लामा बिहीबार तीन जना डिस्चार्ज भएका छन् ।