Mon Jan 17 2022
आर्थिक

चालु खाता ३ सय अर्ब ६९ करोडले घाटामा

चालु खाता ३ सय अर्ब ६९ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले देशको आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो विवरण सार्वजनिक गरेको हो ।

केन्द्रीय बैंकले समीक्षा अवधिमा चालु खाता रु.३०० अर्ब ६९ करोडले घाटामा रहेको उल्लेख गर्दै अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२३ अर्बले घाटामा रहेको जनाएको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको जनाएको छ ।
यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई रु.४ अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई रु.७ अर्ब ७ करोड पुगेको जनाइएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ५० करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको छ ।