जोडिनुहोस
  • होमपेज
  • मौसमः आज मुलुकका केही भागमा भारी वर्षा हुने

मौसमः आज मुलुकका केही भागमा भारी वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद विनु महर्जनले देशका धेरैजसो स्थानमा आगामी दुई–तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताइन् ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

नेपालमा मनसुन गत वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झण्डै दुई साता लागेको थियो । मनसुन प्रभावकारी नहुँदा पछिल्लो एकसाता राम्रोसित वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार यही साउन ६ गतेसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ ।

गत जेठ १८ देखि यही साउन पाँच गतेसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । मनसुन अवधिभर नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका