Sat Jul 2 2022
अन्तर्राष्ट्रिय

अमेरिकाका हजारौँ कैदीलाई कारगारबाट रिहा गरिँदै

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षअघि हस्ताक्षर गरेको ‘अपराधी न्याय सुधार कार्यक्रम’ लाई बाइडेन प्रशासनले कार्यान्यवन गर्ने भएको छ ।

जसअनुसार यसै साता हजारौँ संख्यामा कैदीहरूलाई संघीय कारगारबाट अन्यत्र सारेर विशेष कार्यक्रममा सरिक गराइने अमेरिकी न्याय विभागले जनाएको छ ।

विभागले बिहीबार संघीय अभिलेखमा प्रकाशित सूचनाअनुसार यस अवधिमा कैदीहरूलाई आफ्नो अपराध बापत पाएको कैद सजाय घटाउनसक्ने कार्यहरूमा अग्रसर गरिने बताइएको छ । यसबाट उनीहरू तोकिएको समयभन्दा पहिल्यै रिहा हुन पाउनेछन् ।

यो कानुनमा अमेरिकाका दुवै राजनीतिक पार्टीले सहमति जनाएका थिए । यो कार्यक्रम अन्तर्गत कति कैदी छाडिने भन्नेबारे निश्चित संख्या तोकिएको छैन । तर न्याय विभागका अनुसार यो कानुन हजारौँ कैदीमा कार्यान्वयन हुनसक्ने जनाएको छ ।

सन् २०१८ को डिसेम्बरमा हस्ताक्षर भएको यो कानुनअनुसार कारगारमा सञ्चालित विभिन्न सकारात्मक सामाजिक कार्यक्रममा ३० दिनसम्म सहभागी भएबापत कैदीहरूले १० देखि १५ दिनको कैद मिनाहा सहुलियत पाउने छन् ।