जोडिनुहोस
  • होमपेज
  • साउन १५ मा पनि दुधको छैन अभाव

साउन १५ मा पनि दुधको छैन अभाव

काठमाडौं । बर्सेनि असार र साउनमा नेपाली बजारमा दुधको अभाव हुने गरेको थियो । असार १५ मा दहीचिउरा र साउन १५ मा खिर खाने चलन छ । साउन १५ मा काठमाडौँ उपत्यकामा मात्र खिर खान २० लाख लिटर दुध बिक्री हुने लक्ष्य राखिएको छ ।

सरकारी तथा निजी क्षेत्रले २० लाख लिटरभन्दा धेरै दुध बेच्ने लक्ष्य लिएको डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए । दुग्ध विकास संस्थानले साउन १५ गते एक लाख ४५ हजार लिटर दुध बिक्री गर्ने लक्ष्य लिएको छ । उपत्यकामा दैनिक आठ लाख लिटर दुध बिक्री हुँदै आएको छ ।

अघिल्ला वर्षहरूमा भने यसबेला दुध आपूर्ति असामञ्जस्य हुँदा उद्योगीदेखि व्यवसायीसम्म निकै तनावमा हुन्थे तर यस वर्ष यस्तो तनाव उनीहरूले भोग्नु नै परेन । गाईभैँसीमा लम्पी स्किनले निकै प्रभावित तुल्याए पनि बजारमा दुध अभाव देखिएको छैन ।

भारतबाट चोरी आयात भएकाले पनि नेपाली बजारमा दुध अभाव नभएको बताइएको छ । भारतबाट अवैध रूपमा दुध भित्र्याएर आपूर्ति व्यवस्था सहज तुल्याए पनि यसले अन्ततः नेपाली दुग्ध उत्पादन पुनः परनिर्भरतातर्फ धकेलिने पो हो कि भन्ने चिन्ता भने थपिएको छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले भने, “भारतबाट दुध भित्रिँदा नेपाली बजारमा दुध अभाव नभएको हो ।”बर्खामा दुध अभाव नभएको सम्भवतः पहिलो पटक भएको दुध व्यावसायीहरू बताउँछन् । नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा। मनोजकुमार शाहीले कम्तीमा ११ लाख पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएर दुध उत्पादनमा करिब ४० प्रतिशतले कमी आउन सक्ने अनुमान गरिएको बताए ।

बजारमा दुध अभाव नभएपछि हाल पाँच वटा डेरी उद्योगले धुलो दुध बनाउने कार्य जारी राखेका छन् । ती उद्योगले दैनिक चार लाख ५० हजार लिटर कच्चा दुधबाट पाउडर दुध बनाउने क्षमता राख्छन् । त्यस्तै सरकारी स्तरको दुग्ध विकास संस्थानको स्वामित्वमा रहेको कारखानाले दैनिक ६० हजार लिटर दुधलाई धुलो दुध बनाउन सक्छन् । यो समाचार गोरखापत्र दैनिमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका