Wed May 18 2022
मुख्य खबर

कोभिड संक्रमणदर बढेसँगै स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दैगएको छ ।

स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालमा केही दिनदेखि संक्रमित भर्ना हुनेदर बढ्दै गएको बमले बताउनुभयो । उहाँकाअनुसार जेनेरल वार्डमा २६ जना, आइसियु १०, एचडियुमा १० जना संक्रमित उपचाररत रहनुभएको छ ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले मेडिकल आइसियु सेवा बन्द गरेको डा बममे जानकारी दिनुभयो । यसरी अस्पतालमा आउने संक्रमित पनि बढ्दै जाने र उपचारमा खटिने स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा प्रभावित हुनसक्ने उहाँको भनाई छ । ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य स्वास्थ्यकर्मीलाई कामको चाप बढेको डा बमले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।