काठमाडौं । प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि मतदानबाटै टुंगो लगाउने तयारी थालिएको छ ।
सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो ।
समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ । त्यसका लागि आज बिहान ११ प्रदेशसभा बैठक बस्दैछ ।
राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राजधानी निर्वाचन प्रकृयाबाट टुंगो लगाउनुपर्ने उल्लेख छ ।
प्रदेशको नाम र राजधानी सम्बन्धमा प्रदेश सभामा भइरहेको अन्तिम छलफलमा पनि दलहरु पुरानै अडानमा देखिएका छन् ।
यसरी दलहरुले आफ्ना पुरानै अडानमा अडिग देखिए पनि प्रदेशको नामाकरणमा दुई तिहाई पुग्ने सम्भावना कम देखिएको छ ।
प्रदेश सभामा अहिले सभामुखसहित १०४ जना सासद रहेका छन् । दुई तिहाइको संख्या पुर्याउन कम्तिमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।
मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरि ६३ प्रदेश सांसद रहेका छन् ।
रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी मधेशकै पक्षमा आए पनि दुई तिहाईका लागि ६ मत अपुग हुने देखिन्छ ।