Wed May 18 2022
देश

सिंहदरबारभित्रै कोरोनाको त्रास, चार सचिवलाई संक्रमण

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको छ ।

प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ । तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन ।

थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) का प्रमुख पनि हुन् । उनलाई कोरोना भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सचिवहरू होमआइसोलेसनमा छन् ।

सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पिसिआर परीक्षण गरेको छ ।