Wed May 18 2022
खेलकुद

ए डिभिजन लिगमा आज एनआरटीले जावलाखेलको सामना गर्ने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नवौं चरणको अन्तिम लिग खेल हुनेछ । नवौं चरणको अन्तिम लिग खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एनआरटी र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । र, लिगको आठौं स्थानमा रहेको छ ।

आज जावलाखेललाई हराएर एनआरटी छैटौं स्थानमा उक्लन चाहन्छ । एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य तीन अंककै लागि मैदान उत्रने बताउँछन् ।

त्यस्तै जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ । जावलाखेल दशौँ स्थानमा रहेको छ । जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा रहेको छ ।