Wed May 18 2022
मुख्य खबर

सिद्धिचरण राजमार्गमा जिप दुर्घटना, पाँच घाइते

उदयपुर– सिद्धिचरण लोकमार्गको कटारी मरुवा खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी बजारबाट कटारी नगरपालिकाकै वडा नम्वर ८ मा पर्ने सिरिरे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा कटारी नगरपालिका– ८ पाखाटोलका ३८ वर्षे बिक्रम रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटनामा गम्भिर घाइते भएका रानामगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते हुनेहरूमा कटारी नगरपालिका– ८ पट्नाभज्याङकी ३० वर्षे दिलमाया मगर, १७ वर्षे मनोज खड्का, घुम्तीकै दिपक श्रेष्ठको सात वर्षे छोरा दिवश श्रेष्ठ, ४८ वर्षकी बुद्धमाया श्रेष्ठ, ३६ वर्षीय वेदकुमारी थापा मगर रहेको र घाइते सबैको उपचार कटारी अस्पतालमा भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बोलेरो चालक कटारी नगरपालिका– ८ बस्ने २६ वर्षीय प्रेमबहादुर श्रेष्ठ तत्काल फरार रहेकाले खोजी भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।