Thu May 26 2022
खेलकुद

पीएम क्रिकेटः आज पुलिसले बागमती तथा एपीएफले आर्मीको सामना गर्ने

काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुनेछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्नेछ । पुलिस समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

पुलिसले समूह अन्तर्गत चारवटै खेलमा जित हात पारेको थियो । यता बागमती भने समूह ‘बी’ को उपविजेता टोली हो ।

बागमतीले चार मध्ये तीन खेलमा जित हात पारेको थियो । आज नै हुने दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफ समूह ‘बी’ को विजेता टोली हो भने आर्मी समूह ‘ए’ को उपविजेता टोली हो । एपीएफले समूह अन्तर्गत चारवटै खेल जितेको थियो । आर्मीले भने चारमध्ये दुई खेलमा जित तथा एक खेलमा अंक बाडेको थियो ।