Sun Dec 4 2022
Breaking News

२०७९ सालको पात्रोः विवाहको लगन मात्र ५६ दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को पात्रो तयार पारेको छ ।

पञ्चाङ्ग समितिले चाडपर्व सहितको विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ ।

समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ ।

भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्र श्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेले जानकारी दिएका छन् ।

त्यस्तै, कात्तिक १० गते भाइटीका परेको छ । ढुंगेलका अनुसार कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ ।

कात्तिक ८ गते गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत जुरेको छ ।

आगामी आर्थिक वर्षमा विवाहका ५६ वटा लगन जुरेको छ । जबकि २०७८ सालमा जम्मा ३१ वटा मात्रै लगन जुरेको थियो ।

त्यस्तै, व्रतबन्धको लगन पनि कुनै महिना खाली छैन ।

बजारका नक्कली पात्रोको भर नपर्न नेपाल पञ्चाङ्ग निर्णायक समितिको आग्रह

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव ढुंगेलले बजारमा छ्यापछ्याप्ती प्रकाशित भएका नक्कली पात्रोहरुले भ्रम छर्ने काम गरेको भन्दै त्यसमा लेखिएका तिथि र पर्वलाई आधिकारिक नमान्न आग्रह गरेका छन् ।

ढुंगेलका अनुसार आगामी वर्षको लागि समितिले १४ वटा पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिएको छ ।

तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रोलाई स्वीकृति दिने निर्णय गरिएको हो ।

गठन आदेश २०७७ को दफा ७ को उपदफा ञ र ठ अनुसार समितिको स्वीकृतिविना पञ्चाङ्ग तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने उल्लेख भएकाले सो विपरीत प्रकाशित भएका सबै पात्रो र त्यसको प्रकाशक विरुद्ध कानूनी कारबाही अघि बढाइएको समितिले जनाएको छ ।