Tue May 17 2022
देश

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप शुरु

कैलाली । भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कैलालीको सीमामै कोरोना परीक्षण र खोप शुरु गरीएको छ ।

भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । शङ्कास्पद व्यक्तिको एन्टिजेट परीक्षण गर्ने र खोप नलगाएकालाई सीमामै खोप लगाएर पठाउने गरिएको छ ।

कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ ।

भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन् ।

अहिले सत्ती भन्सारबाट दैनिक सयौँ नागरिक घर फर्किन थालेका छन् ।

खक्रौला हेल्थ डेस्कका प्रमुख मकेन्द्र रोकायाका अनुसार माघीको एक–दुई दिन अगाडिसम्म दैनिक ५०० भन्दा बढी नेपाली सत्ती नाकाबाट प्रवेश गरेका छन् भने अहिले पनि सोही सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । उनले भारतबाट नेपाल आउने नागरिकलाई विशेष निगरानीमा राख्ने गरिएको बताए ।

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले कोरोनाको सङ्क्रमण बढ्न थालेको अवस्थामा सीमानाकामा कडाइ गरिनुपर्ने बताए ।

सत्ती भन्सार कार्यालयस्थित हेल्थ डेस्कको अवस्थाबारे जानकारी लिन पुगेका उनले भारतबाट आउने नेपाली नागरिकको सीमा क्षेत्रमै कोरोना परीक्षण तथा खोप नलगाएकालाई खोपको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले सत्ती भन्सारबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि नगरपालिकाले विशेष सावधानी अपनाएको र नागरिकको आगमन चापलाई हेरेर हेल्थ डेस्कमा तीन स्वास्थ्यकर्मी खटाइएको बताए ।

खुला सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले निगरानी गर्ने गरेका छन् । “कोरोना जोखिम कम गर्न प्रयासरत छौँ”, रावलले भने ।