Sat May 21 2022
देश

कर्मचारीमा कोरोना देखिएपछि विराटनगर मालपोतको सम्पूर्ण सेवा बन्द

विराटनगर । मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।

सोमबार ६ जना कर्मचारी र मंगलबार थप दुई जना कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा हाललाई बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए ।

उनले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिए पनि कार्यालयको आन्तरिक काम भने सञ्चालन गर्ने निर्णय भएको बताए ।

भण्डारीका अनुसार कार्यालयमा कार्यरत कुल ६ जना कम्प्युटर शाखामा कार्यरत कर्मचारी मध्ये चार जनामा सङ्क्रमण देखिएको र अन्य विभिन्न फाँटमा कार्यरत कर्मचारी रहेका छन् ।

मालपोत कार्यालयबाट जग्गा सम्बन्धीका सम्पूर्ण सेवाका लागि दैनिक सयौँको सङ्ख्यामा सेवाग्राहीको भीड लाग्दै आएको थियो ।