Fri May 27 2022
अन्तर्राष्ट्रिय

बंगलादेशी अभिनेत्रीको शव बोराभित्र दुई टुक्रामा भेटियो

एजेन्सी । बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव एउटा बोरामा बाँधिएको अवस्थामा फेला परेको छ ।

आइतबारदेखि बेपत्ता शिमुको शवलाई दुई टुक्रा बनाइ बोरामा बन्द गरेर फ्याँकिएको अवस्थामा सोमबार बिहान भेटिएको हो ।

प्रहरीका अनुसार शव ढाकाको केरानीगंजको आलियापुरको क्षेत्रमा हजरतपुर ब्रिजसँगै सडक किनारामा फेला परेको थियो ।

३५ वर्षीया अभिनेत्रीको गर्धनमा निशाना पाइएको छ । यो घटनालाई लिएर प्रहरीले उनका पतिसमेत ६ जनालाई हिरासतमा लिएको छ ।

शिमु आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी थिइन् । यसपछि उनीसँग जतिपटक सम्पर्क गर्न खोज्दा पनि फोन सम्पर्क हुन सकेको थिएन ।

मंगलबार दिउँसो ढाका प्रहरीले एक पत्रकार सम्मेलनमा पति सखावत, उसका साथी र ड्राइभरलाई तीन दिनको हिरासतमा लिइएको बताएका छन् । हिरासतका क्रममा उनका श्रीमानले घरेलू विवादका कारण पत्नी रायमाको हत्या गरेको स्वीकार गरेका छन् ।

रायमा बंगलादेशको राजधानी ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्नो पति र दुई सन्तानसहित बस्दै आएकी थिइन् ।

उनका सन्तानले भने आमा सुटिङमा व्यस्त भएको सोचेका थिए ।

पछि रायमाको शरीर दुई टुक्रामा हजरतपुर पुलसँग सडक किनारामा बरामद भएपछि प्रहरीले शवको पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।

मृत शरीर फेला परेपछि शिमुका भाइ शाहिदुल इश्लाम खोकानले उनको पतीविरुद्ध मुद्दा दर्ता गराएका थिए ।

ढाका जिल्ला प्रहरी अधिकृत मारुफ हुसेन सरदारले भनेका छन्, ‘पती र उनका साथी फरहादसहित ६ जनालाई शिमुको हत्या गरेको आरोपमा हिरासतमा लिइएको छ । पछाडिको सीटमा रगत लतपतिएको एउटा कार पनि जफत गरिएको छ ।’