Mon Jul 4 2022
देश

दुर्घटना गराएर भागेका टिपर चालक पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरमा गएराति गुडिरहेको टिपरमा मोटरसाइकल ठोक्किँदा मोरङ पथरी घर भएका २७ वर्षीय प्रकाश लिम्बु मृत्यु भएको छ ।

तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको ना।१ क ४५०२ नम्बरको टिपरमा पछाडिबाट जाँदै गरेको प्रदेश–३–०२६ प १८२४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएर चालकको मृत्युपछि सो टिपर भागेको थियो ।

मृतक भक्तपुरको सल्लाघारीमा बस्दै आएका थिए । उनको निधारमा चोट लागेको छ । मोटरसाइकलमा सवार काभ्रे घर भएका ३१ वर्षीय देव लामा गम्भिर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

रमन कन्स्ट्रक्सनको स्वामित्वमा रहेको टिपर र चालकलाई बल्खुस्थित सुन्दरीघाटबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–१० घर भएका ५२ वर्षीय सुब्बा श्रेष्ठ छन् ।

मोटरसाइकल कसले चलाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।