Wed May 18 2022
देश

भोलीदेखि वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली भई पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान मौसमविदले जानकारी दिएको छ ।

अहिले प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरुमा आंशिक बदली र तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज राति र भोलि (बिहीबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने मौसमविद मञ्जु वासीले बताएकी छन् । त्यसपछि अन्य प्रदेशमा पनि यसको प्रभाव फैलिंदै जाने छ ।

काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्का पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।

बिहीबारबाट हरेक प्रदेशहरुका थोरै–थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

शुक्रबार पश्चिमी भूभागका साथै गण्डकी, लुम्बिनी, बागमती, प्रदेश १ का पहाडी भूभाग र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी भूभागमा हल्का हिमपात हुनसक्ने अनुमान छ ।