काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ । खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजेपछि सुरु हुने छ ।
हिजो भएको पहिलो सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनल अन्तर्गत टियु क्रिकेट मैदानमा अर्को विभागिय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
एपीएफले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी १ सय ८३ रनमै सिमित भएको थियो । आर्मीका लागि राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडेका थिए ।
एपीएफका लागि शरद भेषावकरले सर्वाधिक तीन विकेट हात पारेका थिए । अविनाश बोहरा र भुवन कार्कीले दुई–दुई विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २ सय ३० रन जोडेको थियो ।
एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरेका थिए । १० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो ।
तर यसपटक टी–२० फर्म्याटमा खेलाइको छ । यसलाई आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीकोरुपमासमेत हेरिएको छ ।