Tue Jun 28 2022
अन्तर्राष्ट्रिय

चेकोस्लाभाकियामा खोप बिरोधी अभियानमा सरिक हुने लोक गायिकाको कोरोनाबाट मृत्यु

एजेन्सी । चेक गणतन्त्रकी एक लोक गायिका हाना होरकाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्यु कोरोनाबाट मृत्यु भएको जानकारी छोराले दिएका हुन् ।

असोनेन्स ब्यान्डकी भोकलिस्ट हाना होरकाको आइतबार ५७ वर्षको उमेरमा निधन भएको हो ।

हानाले साउना र थिएटर हलमा प्रवेश पाउनका लागि आफूलाई जानीजानी कोरोना संक्रमित बनाएको उनको परिवारले बताएको छ ।

इयूका सदस्य राज्यमा खोप कार्ड वा हालै संक्रमित भएको प्रमाण देखाएपछि मात्रै सार्वजनिक स्थलमा प्रवेश पाउने भएपछि उनले खोप लगाउनुको साटो आफूलाई संक्रमित बनाउनु नै मुनासिव ठानिन् ।

क्रिसमस अघि उनका छोरा र श्रीमान् कोभिडद्वारा संक्रमित भएका बेला उनले आफूलाई जानीजानी संक्रमित बनाएको उनका छोरा रेकले रेडियो कार्यक्रमसँग भने ।

‘उनले भ्याक्सिन लगाउनुको साटो हामीसँगै साधारण तरिकाले बस्ने निर्णय गरिन्,’ उनले सोमबार भने ।

उनको मृत्यु हुनु दुई दिनअघि उनले सोसल मिडियामा भनेकी थिइन्, ‘म बाँचे, यो साह्रै गाह्रो थियो ।’ ‘त्यसैले अब थिएटर, साउना, कन्सर्ट र समुद्रको यात्रा हुनेछ,’ उनले थपेकी थिइन् ।

रेकका अनुसार उनकी आमाको निधन स्थानीय रुपमा चलिरहेको खोप विरुद्धको अभियानका कारण भएको हो । यो अभियानका नेताहरुले उनकी आमालाई खोप लगाउन हुँदैन भनेर विश्वस्त पारेका कारण आफूहरुले यस्तो परिणाम भोग्नुपरेको उनले बताए ।

‘उनलाई प्रभावित पार्ने ती निश्चित व्यक्तिबारे पनि मलाई थाहा छ । तर उनले परिवारका सदस्यलाई भन्दा अपरिचितलाई विश्वास गरेकोमा भने दुःख लाग्छ,’ रेकले भनेका छन् ।