Thu May 26 2022
अन्तर्राष्ट्रिय

रुसले युक्रेनमाथि हस्तक्षेप गर्नसक्छः राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि हस्तक्षेप गर्नसक्ने बताएका छन् ।

ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा बाइडेनले रुसी राष्ट्रपतिले केही न केही गर्नसक्ने आफ्नो अनुमान रहेको तर रुसले पनि पूरै युद्ध भने नचाहेको बताए ।

तर पश्चिमा देशहरुलाई परीक्षण गर्न खोज्नु रुसका लागि गम्भीर र महंगो पर्ने चेतावनी पनि बाइडेनले दिएका छन् । रुसले युक्रेनी सीमा नजिक आफ्ना एक लाख सैनिक तैनाथ गरेको भए पनि आक्रमणको योजना भने नरहेको बताउँदै आएको छ ।

रुसले अमेरिका र पश्चिमा शक्तिहरुलाई परीक्षण गर्न खोज्यो भने रुसले अहिलेसम्म नदेखेको नाकाबन्दी लगाउने भन्दै उसले गर्ने आक्रमणको स्केल अनुसारको दण्ड दिइने बताए ।

पत्रकार सम्मेलनपछि ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले जारी गरेको वक्तब्यमा रुसी सेना युक्रेनभित्र प्रवेश गरेमा अमेरिका र उसको गठबन्धनले एकीकृत जवाफ दिने बताए ।