जोडिनुहोस
  • होमपेज
  • पाल्पामा डेंगु संक्रमित महिलाको मृत्यु

पाल्पामा डेंगु संक्रमित महिलाको मृत्यु

पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-६, बर्तुङस्थित लामीडाडाँकी ६९ वर्षीया महिला रहेकी छन् ।

गत साउन १६ गते संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

डेंगु संक्रमण पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण घरमै आराम गरेकी उनलाई पुनः समस्या देखिएपछि थप उपचारका लागि मिसन अस्पतालमा पुर्‍याइएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बर्खा लागेसँगै पाल्पामा पछिल्लो समय डेंगुका संक्रमित बढेका छन् । साउन महिना सुरु भएयतामात्रै १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए ।

जिल्लामा पाल्पा र रामपुर अस्पतलसँगै तानसेनको युनाइटेड मिसन, लुम्बिनी मेडिकल कलेज गरिएको परीक्षणमा मात्रै ४८ जना भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन, रामपुर आर्यभञ्जांग, सराईलगायतका स्थानमा रहेका निजी स्वास्थ्य संस्थालेसमेत डेंगु परीक्षण गर्ने हुँदा हाल जिल्लामा संक्रमितहरु अझै धेरै हुनसक्ने बताइएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार परीक्षणको दायरा वृद्धि गरेर तथा सचेतना फैलाएर डेंगु रोगको संक्रमणलाई कम गर्न सबै स्थानीय तहलाई अनुरोध समेत गरिंदै आएको छ ।

पाल्पामा सन् २०२१ मा १४ जनामा संक्रमण देखिएकोमा २०२२ मा दुई सय ३३ जना तथा २०२३ को हालसम्म ४८ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयसंग तथ्यांक रहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण वर्षायामदेखि सुरु हुने गर्दछ । विगतमा तराईंमा मात्रै देखिने यो रोगको संक्रमण पछिल्लो वर्षमा पहाडमा समेत बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका