Wed May 18 2022
देश

केयूको परीक्षा स्थगित, टीयू र पीयूले भने परीक्षा नरोक्ने

काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गराइरहेका छन् ।

संक्रमण बढ्दा पनि भौतिक उपस्थितिमा परीक्षा दिनैपर्ने बाध्यता सिर्जना गरिएको र मापदण्ड पालना नगरिएको गुनासो विद्यार्थीहरुले गरिरहेका छन् । तर टीयू, पीयू र शिक्षा मन्त्रालय पनि परीक्षा नरोक्ने पक्षमा छन् ।

त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका नरोक्ने पक्षमा छन् ।

संक्रमण बढ्दा पनि भौतिक उपस्थितिमा परीक्षा दिनैपर्ने बाध्यता सिर्जना गरिएको विद्यार्थीहरुको गुनासो छ । यस्तै परिक्षा हलमा मापदण्ड पालना नगरिएको गुनासो विद्यार्थीहरुले गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले परीक्षा नरोक्दा धेरै विद्यार्थीको हित हुने भएकाले परीक्षा नरोक्ने निर्णय गरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने ‘अहिले कोही संक्रमित नभएको अवस्था देखिएन ।

संक्रमितमध्ये अधिकांशलाई सामान्य लक्षण मात्रै देखिएको भन्ने पनि आएको छ । त्यसैले परीक्षा नरोक्दा धेरै विद्यार्थीको हितमा देखिएपछि परीक्षा नरोक्ने निर्णय गरेका हौं ।’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

संक्रमित विद्यार्थीले परीक्षा दिन चाहेमा केन्द्राध्यक्षले छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । विद्यार्थीले पछि छुट्टै परीक्षा दिन पाउने व्यवस्था भने विश्वविद्यालयले आफैंले निर्णय गर्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहन बस्नेतले परीक्षा केन्द्रहरुलाई लक्षण देखिएका विद्यार्थीहरुलाई छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएको बताए ।

तर केही विद्यार्थी संक्रमित भएकै कारण परीक्षा स्थगित गर्ने र संक्रमित विद्यार्थीले पछि परीक्षा दिन पाउने व्यवस्थाबारे कुनै पनि निर्णय नभएको बताए ।

सञ्चालन भइरहेका अथवा माघभित्रै सञ्चालन हुने परीक्षा स्थगित नहुने त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुषालले बताए ।

त्रिविले परीक्षा केन्द्रहरुलाई सामान्य संक्रमितलाई छुट्टै आइसोलेसन कक्षको व्यवस्था गर्न निर्देशन दिएको छ । गम्भीर संक्रमितलाई भने केही पछि परीक्षा दिन पाउने गरी व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।

अहिले त्रिविले चार वर्षे बीएस्सी तहको परीक्षा सञ्चालन गरिरहेको छ भने तीन वर्षे एलएलबीको परीक्षा यही माघ १० गतेदेखि गर्ने तयारी छ ।

यता काठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको जनाएको छ । माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका सहप्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए ।