एजेन्सी । भारतमा कारोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या फेरि तीन लाख नाघेको छ ।
त्यहाँ ८ महिनापछि कोरोना संक्रमित हुनेको दैनिक संख्या ३ लाख नाघेको हो ।
पछिल्लो २४ घण्टामा भारतभर ३ लाख १७ हजार ५३२ जना नयाँ कोरोना संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार मात्रै भारतमा हालसम्म कुल ३ करोड ८२ लाख १८ हजार ७७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ५८ लाख ७ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९१ जना संक्रमितको ज्यान गएको छ । हालसम्म कारोनाबाट ज्यान गुमाउनको संख्या ४ लाख ८७ हजार ६९३ पुगेको छ । पछिल्लो समय भारतमा सक्रिय संक्रमितको संख्या समेत निरन्तर बढिरहेको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर १९ लाख २४ हजार ५१ पुगेको छ ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर बढेर १६.४१ पुगेको छ भने साप्ताहिक संक्रमण दर १६.०६ रहेको छ । यसबाहेक कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या समेत बढ्दै गएको छ ।
बुधबारको तुलनामा बिहीबार ओमिक्रोनका संक्रमित ३.६३ प्रतिशतले बढेका छन् । हालसम्म यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ९ हजार २८७ पुगेको छ ।