Tue Jun 28 2022
मुख्य खबर

स्थानीय तहको निर्वाचन मिति छिट्टै तोकिन्छ : उपमहासचिव डा.पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उनले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका हुन् ।

उपमहासचिव डा. पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रुपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिए ।

उनले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताए । कार्यक्रममा उपमहासचिव डा। पौडेलले समाजवादी प्रेस संगठन नेपालका पदाधिकारीलाई शपथ गराएका थिए ।

सो अवसरमा संगठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरुलाई देशभर संगठित गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताए ।

त्यस्तै महासचिव भुपराज खड्काले संगठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागेकाले त्यसको तयारी भइरहेको जानकारी गराए । बाइस सदस्यीय पदाधिकारी रहेको उक्त संगठनमा काठमाडौँमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।